काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली, पहाडी तथा तराई भू-भागका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपात हुनेछ भने पाँचवटा प्रदेशका पहाडी तथा हिमाली भेगमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराईतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुनेछ। विशेष गरी कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
त्यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षा वा हिमपात हुनसक्नेछ। देशका पहाडी र तराई भू-भागका केही स्थानमा मध्यम वर्षा हुने र कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।




