रसुवागढी नाका बन्द भएपछि कोरलामा चाप: मुस्ताङ भन्सारबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व सङ्कलन

मुस्ताङ । बाढीका कारण उत्तरी सीमाका मुख्य व्यापारिक नाकाहरू रसुवागढी र तातोपानी अवरुद्ध भएपछि नेपाल–चीन सीमास्थित कोरला नाकाबाट चिनियाँ मालवस्तुको आयात ह्वात्तै बढेको छ। आयातमा उल्लेख्य वृद्धि भएसँगै लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमै १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी–केरुङ खण्ड अवरुद्ध बनाएपछि व्यापारीहरूले कोरला नाकालाई मुख्य विकल्प बनाएका हुन्। भदौ १० देखि २५ गतेसम्मको अवधिमा मात्रै कोरला नाका हुँदै ४३४ वटा कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधन (इभी) भन्सार जाँचपास भएर भित्रिएका छन्। गत शुक्रबार मात्रै भन्सार कार्यालयले एकै दिन २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने भदौ २२ गतेयता दैनिक औसत ३० करोड रुपैयाँको हाराहारीमा राजस्व उठिरहेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको छ। यसअघि भदौ ९ गतेसम्म यस नाकाबाट जम्मा १३३ कन्टेनर र १६३ विद्युतीय सवारी मात्रै भित्रिएका थिए। गत आर्थिक वर्ष २०८२/८३ मा पनि बाढी-पहिरोले अन्य उत्तरी नाका अवरुद्ध भएपछि भदौ ३१ गतेदेखि कोरला नाकालाई वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा खुला गरिएको थियो। गत वर्ष यस नाका हुँदै १४ अर्ब ४१ करोड रुपैयाँ बराबरको मालवस्तु आयात हुँदा मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा