काठमाडौँ । प्रतिनिधि सभामा महिला कर्मचारी तथा श्रमिकका लागि हाल कायम रहेको ९८ दिनको सुत्केरी बिदाको अवधि बढाएर ६ महिना पुर्याउन माग गर्दै सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ। नेपालको संविधान र स्वास्थ्यसम्बन्धी कानुनले प्रत्याभूत गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको मौलिक हकलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै विपक्षी दलका महिला सांसदहरूले संसद् सचिवालयमा यो प्रस्ताव दर्ता गराएका हुन्।
प्रतिनिधिसभा नियमावली, २०७३ को नियम ७१ बमोजिम दर्ता गरिएको प्रस्तावको प्रस्तावकमा नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहनुभएको छ। यस्तै समर्थकहरूमा नेकपा (एमाले) की भूमिका लिम्बु सुब्बा, नेपाली कम्युनिस्ट पार्टीकी बलावती शर्मा, श्रम संस्कृति पार्टीकी राधिका रम्तेल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा हुनुहुन्छ। प्रस्तावमा विश्व स्वास्थ्य संगठनले ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउन सिफारिस गरेको र सरकार स्वयंले ‘सुनौलो १००० दिन’ को नीति अघि सारेको सन्दर्भमा ९८ दिनको बिदा अत्यन्तै अपर्याप्त र विरोधाभासपूर्ण रहेको औँल्याइएको छ।
नेपालमा प्रजनन दर घटेर १.६८ मा झरेको अवस्थामा बिदाको अभावले धेरै कामकाजी महिलाहरू कार्यस्थल र मातृत्वमध्ये एक रोज्नुपर्ने बाध्यात्मक परिस्थितिमा पुगेको प्रस्तावमा उल्लेख छ। निजामती, शिक्षण, स्वास्थ्य, बैंकिङ तथा अनौपचारिक क्षेत्रमा कार्यरत महिलाहरूको संरक्षणका लागि बिदा वृद्धि अपरिहार्य रहेको भन्दै सांसदहरूले यस प्रस्तावलाई संसद्मा तत्काल छलफलको मुख्य एजेन्डा बनाउन माग गरेका छन्।




