काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध केही हप्ता मात्रै चल्ने अनुमान विपरीत साढे ६ महिनाभन्दा बढी समयसम्म लम्बिएको छ। युद्धले विश्वकै प्रमुख ऊर्जा ढुवानी मार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा गम्भीर अवरोध पुर्याए पनि अन्तर्राष्ट्रिय तेल बजारले अहिलेसम्म ठूलो आपूर्ति धक्कालाई जसोतसो थेगिरहेको छ। तर, यो अस्थायी व्यवस्था कहिलेसम्म टिक्ला र तेलको मूल्य पुनः आकासिने जोखिम कति छ भन्ने विषयमा विश्वव्यापी ऊर्जा बजारमा गम्भीर चिन्ता सुरु भएको छ।
विश्लेषकहरूका अनुसार अहिलेसम्म तेलको मूल्य अनियन्त्रित हुनबाट जोगिनुमा वैकल्पिक आपूर्ति मार्गको प्रयोग, अमेरिका र चीनद्वारा रणनीतिक भण्डारको उपयोग तथा विश्वव्यापी रूपमा इन्धनको मागमा आएको गिरावट प्रमुख कारण हुन्। साउदी अरबले पाइपलाइनमार्फत सुरक्षित बन्दरगाहतर्फ तेल पठाउनु, अमेरिका, क्यानडा, ब्राजिल र भेनेजुएलाले दैनिक करिब २० लाख ब्यारेल उत्पादन बढाउनु तथा विद्युतीय सवारीसाधनको बढ्दो प्रयोगले दैनिक झण्डै १ करोड ३० लाख ब्यारेल तेल घाटाको प्रभावलाई बजारमा सन्तुलनमा राखेको जेपी मोर्गनको विश्लेषण छ।
यद्यपि, विश्वका प्रमुख अर्थशास्त्री तथा ऊर्जा विज्ञहरूले यो व्यवस्था दीर्घकालीन समाधान नभएको चेतावनी दिएका छन्। युद्ध अनिश्चितकालसम्म लम्बिएमा अमेरिका र चीनको रणनीतिक तेल भण्डार रित्तिँदै जाने र त्यसपछि माग र आपूर्तिबिच चरम असन्तुलन उत्पन्न भई तेलको भाउ अत्यधिक महँगो हुने जोखिम छ। एसएन्डपी ग्लोबल इनर्जीका अनुसार पश्चिम एसियाको तेल उत्पादन आगामी वर्षको अन्त्यसम्म पनि पुरानै लयमा फर्किन नसक्ने देखिएकाले विश्व अर्थतन्त्र लामो समयसम्म ऊर्जा अस्थिरताको दबाबमा रहने निश्चितप्रायः छ।




