‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’ शब्दप्रति ओलीको आपत्ति, एमाले कार्यदल बैठक अनिश्चित बन्दा केन्द्रीय समिति प्रभावित हुने

काठमाडौँ । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलभित्र दस्ताबेजको भाषालाई लिएर विवाद चर्किएपछि बिहीबारका लागि तय भएको कार्यदल बैठक अन्योलमा परेको छ। संयोजक रामबहादुर थापा ‘बादल’ र पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदनमा ‘पुनर्गठन’ र ‘मार्गप्रशस्त’ जस्ता शब्द समावेश गर्न कडा आपत्ति जनाएपछि कार्यदलको सहमति प्रक्रिया रोकिएको हो।

गत सोमबार काभ्रेको बल्थलीमा सम्पन्न आवासीय बैठकले संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलले तयार पारेका दुई अलग प्रतिवेदन सम्पादन गरी एउटै बनाउन उपाध्यक्ष विष्णु पौडेल, पोखरेल र थापालाई जिम्मेवारी सुम्पेको थियो। तर, बुधबार पार्टी कार्यालय च्यासलमा भएको छलफलमा पुनर्गठनको भाषाका सवालमा सहमति जुट्न सकेन। सहमति नजुटेपछि बादल अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगेका थिए, जहाँ ओलीले नेतृत्व परिवर्तन वा पुनर्गठन भन्ने शब्द कुनै पनि हालतमा प्रयोग नगर्न निर्देशन दिएका थिए।

एकीकृत प्रतिवेदनमा निर्वाचनको पराजय र पार्टीको अधोगतिको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने तथा अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा पौडेल र पोखरेल उभिएका छन् भने ओली र बादल नेतृत्वमाथि दोष थोपर्न नहुने अडानमा छन्। कार्यदलका सदस्यहरू भानुभक्त ढकाल र छविलाल विश्वकर्माले पनि बिहीबारको बैठकबारे कुनै आधिकारिक जानकारी नआएको बताएका छन्। कार्यदलले प्रतिवेदनको टुङ्गो लगाउन नसक्दा आगामी असोज ५ देखि ७ गतेसम्म तय गरिएको एमाले केन्द्रीय कमिटी बैठकसमेत प्रभावित हुने सम्भावना बढेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा