काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज (सोमबार) सिंहदरबारमा बस्दैछ। संसद् सचिवालयका अनुसार अपराह्न १ बजे प्रतिनिधिसभा र अपराह्न १:१५ बजे राष्ट्रियसभाको बैठक बस्ने कार्यतालिका तय गरिएको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। साथै, प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
उता, राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित सांसदहरूका मौखिक प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ। त्यसलगत्तै मन्त्री चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन्। दुवै सदनको बैठकका अतिरिक्त आजै सिंहदरबारमा कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठकसमेत बस्दैछ।





