काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत विभिन्न तीनवटा विषयगत समितिको बैठक आज (सोमबार) सिंहदरबारमा बस्दैछ। आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो। बैठकहरूमा बाढीपहिरो प्रभावित क्षेत्रको विपद् व्यवस्थापन, मानवअधिकार संरक्षण, भौतिक पूर्वाधारको पुनर्निर्माण तथा कृषि अनुसन्धान प्रणाली सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने कार्यसूची तय गरिएको छ।
सिंहदरबारमा बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या, चुनौती, प्राप्त निष्कर्ष तथा कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल हुनेछ। उक्त छलफलका लागि कृषि, वन तथा पर्यावरण मन्त्री, नार्कका कार्यकारी निर्देशकका साथै विभिन्न निर्देशनालय, कार्यक्रम र केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।
यसैगरी, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, प्रभावित नागरिकको मानवअधिकार संरक्षण तथा जलवायु न्यायका विविध आयामबारे छलफल गरिनेछ। सोही समयमा बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने बाढी तथा पहिरो प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा जनजीवन तथा भौतिक पूर्वाधारमा परेको क्षति, पुनःस्थापना र पुनर्निर्माणका साथै आवश्यक लगानी व्यवस्थापनका उपायहरूबारे सरोकारवाला निकायहरूसँग समीक्षा तथा परामर्श हुनेछ।





