चाडपर्व नजिकिँदै गर्दा भोजपुर बजारमा आकस्मिक अनुगमन: सडेको १७ किलो माछा नष्ट, सरसफाइ र मूल्यसूची सुधार्न निर्देशन

भोजपुर । आसन्न चाडपर्वलाई लक्षित गर्दै उपभोक्तालाई स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यका साथ भोजपुर बजारमा माछा तथा मासु पसलहरूको आकस्मिक अनुगमन गरिएको छ। स्थानीय प्रशासन, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सरोकारवाला निकायहरूको संयुक्त टोलीले बजारका विभिन्न १० वटा माछा तथा मासु पसलमा छड्के अनुगमन गरेको हो।

अनुगमनका क्रममा मापदण्डविपरीत अस्वस्थकर माछा तथा मासु बिक्रीका लागि राखिएको पाइएको छ। बजारस्थित ‘दाजुभाइ माछा पसल’ मा सडेको र गन्ध आइसकेको अवस्थामा भेटिएको १७ किलो ४४५ ग्राम माछा अनुगमन टोलीले नियन्त्रणमा लिई स्थलगत रूपमै नष्ट गरेको छ। भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालका अनुसार चाडपर्वका बेला मासुजन्य उपजको माग बढ्ने भएकाले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड हुन नदिन आकस्मिक अनुगमन गरिएको र अस्वस्थकर वस्तु नष्ट गरी व्यवसायीलाई आवश्यक सुझाव दिइएको छ।

अनुगमन टोलीमा सहभागी उद्योग, कृषि तथा सहकारी मन्त्रालयका डा. देवकुमार दर्लामीले अघिल्ला अनुगमनहरूको तुलनामा केही व्यवसायीले सरसफाइ र गुणस्तरमा सुधार गरेको पाइए पनि अझै केही पसलमा दर्ता नवीकरण, मूल्यसूची टाँस र सरसफाइमा कमीकमजोरी देखिएकाले तत्काल सुधार गर्न कडा निर्देशन दिइएको बताए। भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा भएको उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र भोजपुर नगरपालिका पशु सेवा शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा