आजको मौसम : चार प्रदेशका पहाडी भेग र मधेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा मंगलबार पहाडी तथा हिमाली भू-भागका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भेगमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनेछ । विशेषगरी दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै हिमाली क्षेत्रका उच्च भू-भागहरूमा हल्कादेखि मध्यमसम्म हिमपात हुन सक्ने आकलन गरिएको छ ।

यसैगरी रातिको समयमा पनि कोशी, मधेश र हिमाली क्षेत्रसहित बागमती, गण्डकी र लुम्बिनीका पहाडी भेगमा साधारणतया बदली रहनेछ । राति कोशी र बागमती प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । भारी तथा मध्यम वर्षाका कारण पहाडी भेगमा गेग्रान बहाव, बाढीपहिरो र भू-क्षयको जोखिम रहनुका साथै नदीनालाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा