काठमाडौँ । रसुवामा आएको भीषण बाढीका कारण अवरुद्ध आवागमनलाई सुचारु गर्न क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलहरूको मर्मत एवं पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म विभिन्न चार स्थानमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने थप तीन स्थानमा तुइन जडानको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
स्थानीय बासिन्दाको दैनिक आउजाउलाई सहज बनाउन इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ स्थित स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड–६ र आमाछोदिङ्मो गाउँपालिका–१ स्थित हाकुबेँसीमा पनि तुइन सञ्चालनमा आइसकेका छन्। यसैगरी, रसुवाको उत्तरगया–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ–५ जोड्ने स्थानमा सहमति जुटिसकेको छ भने रुङ्गामा रेकी भइरहेको र स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरिया परेकाले स्थान परिवर्तन गरी तुइन राख्ने तयारी गरिएको छ।
यसैबिच, बाढीबाट क्षतिग्रस्त बनेका धादिङ, नुवाकोट र गोरखाका १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ। थप सात वटा झोलुङ्गे पुलको मर्मत सुरु गरिएको र आवश्यक स्टिल पार्ट्स खरिदको दोस्रो चरणको सम्झौता भइसकेको छ। बाढीले पूर्ण रूपमा बगाएका तथा क्षति पुर्याएका ३३ वटा झोलुङ्गे पुलहरूको भने नयाँ संरचना पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कार्य अन्तिम तयारीमा पुगेको मन्त्रालयले स्पष्ट पारेको छ।





