काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (बुधबार) देशभरको मौसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपात हुनुका साथै चार प्रदेशमा भारी वर्षा र कोशी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भेगका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भू-भागका केही स्थान तथा सुदूरपश्चिमको तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ। विशेष गरी दिउँसो कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।
यसैगरी आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। रातिको समयमा कोशी प्रदेशका धेरै स्थान, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेशसहित बागमती, गण्डकी र लुम्बिनीको तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुनेछ भने कोशीका थोरै स्थान तथा बागमतीको पहाडी र तराई, गण्डकी र लुम्बिनीको तराई भेगका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले बाढी, पहिरो तथा गेग्रान बहावको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





