काठमाडौँ । आगामी केही दिन देशभर भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सरकारले बीपी राजमार्गअन्तर्गत बाढीपहिरोले क्षति पुर्याएको खण्डमा निर्माणाधीन अस्थायी ट्रयाकको काम केही दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान अनुसार मनसुनी वर्षा पुनः सक्रिय भई पहिरोको जोखिम उच्च हुने देखिएपछि सडकमा हुने सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्तो कदम चालिएको हो ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्षा, पहिरो तथा भिरालो भूगोलका कारण आउन सक्ने चुनौतीलाई ध्यानमा राखेर निर्माण कार्य अस्थायी रूपमा रोकी हाल चालु रहेको सडकबाट यातायात आवागमनलाई सुरक्षित र सहज बनाउने तयारी गरिएको जानकारी दिए । मन्त्री लम्सालका अनुसार जोखिमयुक्त क्षेत्रमा निर्माण कार्य जारी राख्दा थप पहिरो खस्ने र यात्रुहरू जोखिममा पर्ने सम्भावना रहेकाले मौसम सुधार नभएसम्मका लागि ट्रयाक निर्माणको काम स्थगित गरिएको हो ।
यसैबीच, मन्त्रालयले सम्भावित वर्षा र पहिरोको उच्च जोखिमलाई दृष्टिगत गर्दै बीपी राजमार्ग भएर यात्रा गर्ने सम्पूर्ण यात्रु, सवारी चालक तथा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । आवश्यक नपरी रातको समयमा यात्रा नगर्न, मौसमको पूर्वजानकारी लिएर मात्र सवारी साधन सञ्चालन गर्न र सडकमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिक टोलीको निर्देशन पालना गर्न पूर्वाधार मन्त्री लम्सालले आग्रह गरेका छन् ।





