एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले एसियाली पूर्वाधार लगानी विकास बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन शनिबार साँझ कतार प्रस्थान गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी कतार एयरवेजको नियमित उडानमार्फत साँझ ७ बजे कतारको राजधानी दोहा प्रस्थान गरेका हुन्। प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्सालसमेत सहभागी छन्।

भ्रमणका क्रममा अर्थमन्त्री डा. वाग्लेले बैंकको ‘बोर्ड अफ गभर्नर्स’ को उच्चस्तरीय सत्रमा सहभागिता जनाउनेछन्। सो क्रममा उनले नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण तथा दिगो आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग र लगानी परिचालनबारे गहन छलफल गर्ने उनको सचिवालयले जनाएको छ।

यसैगरी, कतार बसाइका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षका साथै भारत, बङ्गलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको छ। वार्षिक बैठक तथा निर्धारित द्विपक्षीय संवादहरू सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आगामी असोज १४ गते बुधबार स्वदेश फर्किनेछ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा