काठमाडौँ । मुलुकभर पश्चिमी तथा मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (आइतबार) विशेष गरी पश्चिमी क्षेत्रका भू-भागमा मौसम प्रतिकूल रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपात हुनुका साथै चार प्रदेशमा भारी वर्षा र तराई भेगमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने कोशी, मधेश र बागमतीका तराई भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भू-भागका धेरै स्थान, गण्डकी र लुम्बिनीका केही स्थान तथा कोशी र बागमतीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा वा हिमपातको आकलन गरिएको छ। यस्तै, सुदूरपश्चिमको तराईका धेरै स्थान, लुम्बिनीको तराईका केही स्थान तथा बागमती, गण्डकी, कोशी र मधेशका तराई क्षेत्रमा मध्यम वर्षा हुनसक्नेछ। विशेष गरी सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा हावाहुरीसमेत चल्नसक्नेछ।
यसैगरी आज राति सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ। रातिको समयमा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपात हुनसक्नेछ। सुदूरपश्चिम, बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका तराई भेगका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा हावाहुरीको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।





