काभ्रे । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको भीषण पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । अविरल वर्षासँगै सडकमाथिबाट खसेको लेदो र पहिरोका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प बनेको हो ।
पहिरो पन्छाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभएको छ । यद्यपि लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन निकै असहज भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि काठमाडौंतर्फ आउने र पूर्वी पहाडी तथा तराईका जिल्लातर्फ जाने सवारीसाधनहरू बीचबाटोमै रोकिएका छन् ।
राजमार्गका अन्य विभिन्न स्थानहरूमा पनि पहिरोको जोखिम रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । यात्रा गर्नुपूर्व सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।





