लगानी बोर्डद्वारा दुई जलविद्युत् आयोजनाका लागि २१ अर्बभन्दा बढी लगानी स्वीकृत

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाका लागि २१ अर्बभन्दा बढीको लगानी स्वीकृत गरेको छ । बैठकले १० अर्ब ७५ करोड ४ लाख रुपैयाँ लागत अनुमान गरिएको ५८.९ मेगावाट क्षमताको नार खोला र १० अर्ब ४२ करोड ३३ लाख रुपैयाँ लागतको ४६.७२ मेगावाट क्षमतायुक्त सानी भेरी–३ जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने निर्णय गर्नुका साथै ९०० मेगावाटकै माथिल्लो कर्णाली जलविद्युत् परियोजनालाई सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढाउन आवश्यक सहजीकरण गर्ने तय गरेको छ । स्वीकृत परियोजनाहरूको प्रभावकारी कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा तीव्रता ल्याउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गरिएको छ ।

यसैगरी, बोर्डद्वारा आह्वान नगरिएका लगानी प्रस्तावहरूलाई आवश्यकतानुसार ‘स्वीस च्यालेन्ज’ विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी प्रबन्ध गर्न निर्देशन दिइएको छ । बैठकले कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव आएमा नवीकरणीय ऊर्जाको खपत, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासलाई टेवा पुग्ने गरी प्राथमिकता दिने नीतिगत निर्णयसमेत गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा