काठमाडौँ । बडा दसैँको नवौँ दिन आज महानवमी पर्व भक्तिभावका साथ मनाइँदैछ । आज नवरात्रकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ । वर्षभरि सुरक्षा र सफलता मिलोस् भन्ने कामनासहित कलपूर्जा, औजार, हतियार तथा सवारीसाधनको विशेष पूजा गरिएको छ ।
सवारीधनीले बिहानै गाडी सफा गरी फूलमाला र अबिरले सिँगारेर नरिवल फोड्दै यात्रामा विघ्न नआओस् भनी प्रार्थना गरेका छन् । हनुमानढोकास्थित कोतखानामा परम्परागत विधिअनुसार विशेष पूजा गरिएको छ भने तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ ।
महानवमीसँगै भोलि मनाइने विजयादशमीका लागि टीका र जमराको अन्तिम तयारी सुरु भएको छ ।





