चितवनमा दसैँलक्षित खसीबोकाको व्यापार ३० करोड नाघ्ने, स्थानीय उत्पादनले भारतको निर्भरता शून्य

चितवन । यस वर्षको बडादसैँका अवसरमा चितवन जिल्लामा खसीबोकाको व्यापार ३० करोड रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ । नेपालीहरूको महान् चाड दसैँ सुरु भएसँगै जिल्लाका सहरी तथा ग्रामीण बजारहरूमा खसीबोका तथा च्याङ्ग्राको माग र कारोबार ह्वात्तै बढेको हो ।

मासु व्यवसायी सङ्घ चितवनका अनुसार चाडपर्वको अवधिमा मात्रै जिल्लाभर व्यावसायिक रूपमा १५ हजारभन्दा बढी खसीबोका र च्याङ्ग्रा बिक्री हुने प्रक्षेपण गरिएको छ । गत वर्ष करिब १० हजार खसी–च्याङ्ग्रा बिक्री भएकोमा यसपटक घटस्थापनादेखि नै माग उल्लेख्य रूपमा बढेको व्यवसायीहरूको भनाइ छ । जिल्लामा सञ्चालित १ हजारभन्दा बढी मासु पसलहरूमध्ये १५० भन्दा बढी पसलहरूले विशेष रूपमा खसीको मात्र कारोबार गर्दै आएका छन् ।

चितवनमा विगत पाँच वर्षयता दसैँका लागि भारतबाट खसीबोका आयात गरिएको छैन । जिल्लाका स्थानीय कृषि तथा पशुपालन सहकारीहरूले व्यावसायिक रूपमा खसी उत्पादन गर्न थालेपछि चितवन आत्मनिर्भर बनेको हो । स्थानीय माग धानेर चितवनबाट काठमाडौँतर्फ समेत खसी आपूर्ति भइरहेको छ भने गोरखा, धादिङ, तनहुँ र नवलपरासीबाट समेत खसीबोका चितवन भित्रिने गरेका छन् । हाल बजारमा जिउँदो खसी प्रतिकिलो ७०० रुपैयाँभन्दा माथि र तयारी मासु प्रतिकिलो १ हजार २०० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै, हिमाली क्षेत्रबाट आउने च्याङ्ग्राको मागलाई सम्बोधन गर्न यस वर्ष मुस्ताङसहित जुम्ला, बझाङ र डोल्पाबाट समेत ३ हजारभन्दा बढी च्याङ्ग्रा चितवन भित्र्याइएको छ । स्थानीय किसान र सहकारीको अग्रसरताका कारण उपभोक्ताले गुणस्तरीय मासु पाइरहेका छन् भने जिल्लाको ग्रामीण अर्थतन्त्रमा करोडौँ रुपैयाँ परिचालन भएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा