पर्सा प्रहरीको कडा अपरेसन: असोजमा २४ जना लागुऔषध कारोबारी पक्राउ, ७५ लाखको अवैध सामान बरामद

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वलक्षित अपराध नियन्त्रण तथा अवैध तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानका क्रममा असोज महिनामा २४ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । साथै, भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब ७५ लाख ४४ हजार रुपैयाँ बराबरका सामानहरू समेत बरामद गरिएको छ ।

पर्सा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार असोज महिनाभर लागुऔषधसम्बन्धी १६ वटा मुद्दा दर्ता गरी २४ जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट ३८ किलो ५०८ ग्राम गाँजा, १७१ ग्राम ७९० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) र १४ ग्राम ६४० मिलिग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ ।

यसै अवधिमा अवैध हतियार नियन्त्रण अभियानअन्तर्गत ५ थान हतियार र ६ राउन्ड गोली समेत फेला पारिएको छ । फैसला कार्यान्वयन तथा फरार प्रतिवादी पक्राउ अभियानतर्फ १०३ जनालाई पक्राउ गरी ४० वर्षभन्दा बढी कैद र २ करोड ७१ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, सीमावर्ती क्षेत्रमा हुने चोरीतस्करी नियन्त्रण गरी ७५ लाख ४४ हजार रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न तथा अन्य मालसामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । असोज महिनाभर ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार ३४४ सवारीसाधनमाथि कारबाही गरी १६ लाख ३६ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा