काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग बिचौलिया इनम सापकोटाको सम्बन्धलाई लिएर चौतर्फी बहस र चासो बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।
बिहीबार दिउँसो सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर सभापति लामिछानेले सभामुख अर्यालसँग छलफल गरेको सभामुखको सचिवालयले पुष्टि गरेको छ। दुई नेताबीच के विषयमा कुराकानी भयो भन्नेबारे औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन। भेटमा दुई नेताबीच मात्रै एक्लाएक्लै संवाद भएको सचिवालयका एक सदस्यले जानकारी दिएका छन्।
पछिल्ला दिनहरूमा सभापति लामिछानेले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। यसअघि बुधबार मात्रै लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको थियो। प्रधानमन्त्रीसँगको भेटको भोलिपल्टै सभामुखसँग भएको यो भेटलाई राजनीतिक वृत्तमा विशेष चासो र अर्थपूर्ण रूपमा हेरिएको छ।
विशेषगरी न्यायपालिका, संवैधानिक निकाय तथा राजनीतिक नेतृत्वबीच विवादास्पद बिचौलियाको पहुँच र प्रभावका विषयमा सार्वजनिक वृत्तमा प्रश्न उठिरहेको संवेदनशील समयमा भएको यस भेटवार्ताले आगामी संसदीय गतिविधि तथा राजनीतिक निकासका सन्दर्भमा नयाँ मोड लिन सक्ने अनुमान गरिएको छ।





