काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा मधेस प्रदेश र मातहतका जिल्लाहरूमा देखिएका सांगठनिक तथा राजनीतिक समस्या समाधानका लागि गठित कार्यदलको अध्ययन प्रतिवेदन पेस भएको छ ।
काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा सम्पन्न बैठकमा मधेस अडिटका सन्दर्भमा सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन पेस गरिएको हो ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार कार्यदलले मधेस प्रदेशका विभिन्न जिल्लामा पुगेर तल्लो तहका कार्यकर्ता, स्थानीय नेतृत्व र नागरिकका समस्या तथा गुनासो संकलन गरी प्रतिवेदन तयार पारेको थियो । सचिवालय बैठकमा पेस भएको उक्त प्रतिवेदन अध्ययन गरी त्यसैका आधारमा पार्टीले आगामी रणनीति तथा सांगठनिक कदमहरू चाल्ने प्रवक्ता खरेलले जानकारी दिए ।
यसैबिच, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाको एक उच्चस्तरीय प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने तय भएको छ । प्रवक्ता खरेलका अनुसार पार्टीका सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा केही केन्द्रीय सदस्यहरू सम्मिलित प्रतिनिधिमण्डलले चीन भ्रमण गर्ने निश्चित भएको हो । भ्रमणका क्रममा दुई देशबिचको सम्बन्ध, आपसी हित र अनुभव आदानप्रदानका विषयमा छलफल हुनेछ ।
बैठकमा मुलुकको विद्यमान समसामयिक राजनीतिक परिस्थिति, संसद र जनस्तरमा पार्टीले खेल्नुपर्ने प्रभावकारी भूमिका तथा संगठन सुदृढीकरणका विषयमा समेत सघन विमर्श भएको थियो ।




