तेल अभिभ । अक्टोबर २७ मा सम्पन्न संसदीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै इजरायलमा नयाँ सरकार गठन प्रक्रियामा गम्भीर अन्योल छाएको छ । १२० सदस्यीय संसद् (नेसेट) मा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको गठबन्धन र विपक्षी खेमा दुवैले स्पष्ट बहुमत (६१ सिट) हासिल गर्न नसकेपछि राजनीतिक गतिरोध उत्पन्न भएको हो ।
अन्तिम मतपरिणाम अनुसार नेतान्याहु समर्थक दक्षिणपन्थी गठबन्धनले ५३ सिट जितेको छ भने नेतान्याहुविरोधी यहुदी पार्टीहरूको गठबन्धनले ४८ सिट प्राप्त गरेको छ । बाँकी १९ सिट अरब नेतृत्वका पार्टीहरूले जितेका छन् । कुनै पनि पक्षको एकल बहुमत नपुगेकाले नयाँ सरकार निर्माणका लागि तीव्र राजनीतिक खिचातानी सुरु भएको छ ।
नेतृत्वको दौडमा नेतान्याहु र आइजेनकोट
निर्वाचन आयोगले आधिकारिक नतिजा प्रमाणित गरी बुझाएपछि राष्ट्रपति आइज्याक हर्जोगले सरकार गठनको पहल थाल्नेछन् । राष्ट्रपतिले नोभेम्बर ११ भित्र संसद्मा सबैभन्दा बलियो सम्भावना बोकेको कुनै एक नेतालाई २८ दिनको समय दिएर सरकार बनाउन आमन्त्रण गर्ने कानुनी व्यवस्था छ ।
वर्तमान प्रधानमन्त्री नेतान्याहुका अलावा विपक्षी गठबन्धनमा सबैभन्दा ठूलो दलका रूपमा उदाएको ‘यासार’ पार्टीका नेता तथा पूर्वसेनाप्रमुख गादी आइजेनकोट प्रमुख दाबेदारका रूपमा अघि सरेका छन् । केही अरब दलहरूले नेतान्याहुलाई सत्ताबाट हटाउन आइजेनकोटलाई बाहिरबाट समर्थन गर्न सक्ने संकेत दिएका छन्, जसले विपक्षी खेमाको सम्भावना बलियो बनाएको छ ।
राष्ट्रिय सहमतिको सरकार कि फेरि चुनाव ?
राष्ट्रपति हर्जोगले देशलाई बारम्बारको निर्वाचन चक्रबाट जोगाउन दलहरूलाई लचिलो बन्न आग्रह गरेका छन् । आवश्यक परे नेतान्याहु र आइजेनकोटलाई एकै ठाउँमा ल्याएर राष्ट्रिय सहमतिको सरकार बनाउन समेत पहल गर्ने उनको तयारी छ । तर दलहरूबिच सहमति जुट्न नसकेमा इजरायल पुनः मध्यावधि निर्वाचनमा जान सक्ने विश्लेषण गरिएको छ । त्यस्तो अवस्थामा नयाँ सरकार नबन्दासम्म नेतान्याहु नै कामचलाउ प्रधानमन्त्रीका रूपमा कायम रहनेछन् ।





