काठमाडौँ । अनशनरत प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप र विशेष उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको छ । डा. केसीलाई इलामबाट काठमाडौँ ल्याउनका लागि सोमबार बिहान हेलिकप्टर पठाइसकिएको छ ।
इलाम अस्पतालमा उपचाररत डा. केसीलाई काठमाडौँ ल्याएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीयूटीएच) मा भर्ना गर्ने तयारी भइरहेको इलाम अस्पतालका चिकित्सक डा. महेश आचार्यले जानकारी दिएका छन् ।
टाइप-२ मधुमेहका दीर्घरोगी रहेका डा. केसीको अनशनका कारण स्वास्थ्यमा जटिल समस्या देखिएको हो । स्वास्थ्य परीक्षणका क्रममा उनको रगतमा ग्लुकोजको मात्रा अत्यधिक घटेको (हाइपोग्लाइसेमिया) र पिसाबमा एसिटोनको मात्रा तीव्र रूपमा बढेको पाइएको चिकित्सकहरूले जनाएका छन् । स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि विशेषज्ञ चिकित्सकहरूको निगरानीमा विशेष आईसीयू उपचार आवश्यक देखिएकाले काठमाडौँ रेफर गरिएको हो ।
चिकित्सा शिक्षा सुधार तथा स्वास्थ्य क्षेत्रका विभिन्न मागहरू राख्दै डा. केसीले बिहीबार साँझदेखि इलामको नारायणस्थान मन्दिर परिसरमा अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल इलाम अस्पताल पुर्याएर अक्सिजन र स्लाइन दिई उपचार सुरु गरिएको थियो ।





