कोरला नाकाबाट ३ हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल आयात, चाडपर्वमा स्याउ र ओखरको माग उच्च

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाका हुँदै हालसम्म तीन हजार ७२५ मेट्रिकटन चिनियाँ फलफूल नेपालतर्फ आयात भएको छ। रसुवागढी र तातोपानी नाका अवरुद्ध भएपछि गत भदौ २० गतेदेखि कोरला नाकाबाट फलफूलजन्य मालवस्तु नेपाल भित्रिन थालेको हो।

कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको क्वारेन्टाइन कार्यालयका अनुसार हालसम्म ११ प्रकारका फलफूल चीनबाट नेपाल भित्रिएका छन्। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवा-केरुङ नाका भदौ १० गतेदेखि पूर्ण रूपमा बन्द छ भने सिन्धुपाल्चोकको तातोपानी नाका पनि लामो समयदेखि अवरुद्ध रहेको छ। दुई मुख्य नाका बन्द भएपछि व्यापारीहरूले कोरला नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग गरेका हुन्।

क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो दुई महिनाको अवधिमा दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी चीनबाट फलफूल आयात उल्लेख्य रूपमा बढेको छ। नाकाबाट स्याउ, ड्रागन फ्रुट, नासपाती, आँप, अङ्गुर र किसमिसलगायतका फलफूल भित्रिएका छन्। यसका अतिरिक्त फर्सीको बीउ, लसुन र फापरसमेत आयात भएको छ। चाडपर्वको अवसरमा सबैभन्दा बढी बोक्रा भएको ओखर र स्याउ आयात भएको कार्यालयले जनाएको छ।

यसअघि गत असोज ११ गतेको अविरल वर्षा, बाढीपहिरो र नदी कटानका कारण बेनी-जोमसोम सडकखण्ड दुई साताभन्दा बढी अवरुद्ध हुँदा आयातित फलफूल ढुवानीमा कठिनाइ उत्पन्न भएको थियो। नाकामा भन्सार तथा क्वारेन्टाइन जाँचपास भइसकेका फलफूलसमेत समयमै बजारसम्म पुग्न नसक्दा व्यवसायीले समस्या झेल्नुपरेको थियो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा