वाशिङ्टन । अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा र प्रक्षेपणहरू सार्वजनिक हुन थालेका छन् । प्रारम्भिक मतपरिणाम अनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले उत्साहजनक अग्रता हासिल गर्दै महत्त्वपूर्ण राज्यहरूमा विजय सुनिश्चित गरेको छ ।
सीएनएनको ताजा प्रक्षेपण अनुसार रिपब्लिकन पार्टीको पकड मानिएको फ्लोरिडा राज्यमा निर्वाचन क्षेत्र पुनर्निर्धारण (गेरीमन्ड्रिङ) गरिए पनि कम्तीमा तीन प्रतिनिधिसभा सिटमा डेमोक्र्याटिक उम्मेदवारहरू विजयी हुने देखिएको छ । फ्लोरिडाको २५औँ क्षेत्रमा जारेड मोस्कोविट्जले रिपब्लिकन उम्मेदवार स्कट सिंगरलाई पराजित गरेका छन् भने २२औँ क्षेत्रमा पिया दान्दिया र १४औँ क्षेत्रमा क्याथी क्यास्टरले जित निकालेका छन् । क्यास्टर योसँगै ११औँ पटक प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।
फ्लोरिडाका रिपब्लिकन गभर्नर रोन डिसान्टिसले आफ्नो पार्टीलाई फाइदा पुग्ने गरी क्षेत्रको नक्सा हेरफेर गरे पनि मतदाताले त्यसलाई अस्वीकार गरिदिएको प्रारम्भिक रुझानले देखाएको छ ।
त्यस्तै, अमेरिकी सिनेटतर्फ पनि डेमोक्र्याटहरूले बलियो पकड देखाएका छन् । जर्जियाबाट सिनेटर जोन ओसफ पुनः निर्वाचित हुने प्रक्षेपण गरिएको छ, जसले सिनेटमा डेमोक्र्याटको सिट सुरक्षित गरेको छ । उता नर्थ क्यारोलाइनामा पूर्वगभर्नर तथा डेमोक्र्याट उम्मेदवार रोय कुपरले रिपब्लिकन उम्मेदवार माइकल ह्वाट्लीलाई हराउँदै सन् २००८ पछि पहिलोपटक डेमोक्र्याटिक पार्टीका लागि सिनेट सिट जितेका छन् । न्यु ह्याम्पसायरबाट क्रिस पापास सिनेटमा निर्वाचित हुने प्रक्षेपण गरिएको छ ।
सीएनएनको प्रारम्भिक मतदाता सर्वेक्षण (एग्जिट पोल) अनुसार ७१ प्रतिशत मतदाताले अमेरिकी कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पका कामकारबाहीमाथि पर्याप्त निगरानी राख्न नसकेको बताएका छन् । महँगी, स्वास्थ्य सेवा र प्रशासनका नीतिहरू यस निर्वाचनका प्रमुख मुद्दा बनेका छन् । सिनेट र प्रतिनिधिसभाको अन्तिम शक्ति सन्तुलन भने बाँकी प्रतिस्पर्धात्मक राज्यहरूको पूर्ण गणनापछि स्पष्ट हुनेछ ।





