काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग पार्टी र आफ्नो कुनै पनि प्रकारको वैमनस्यता वा मतभेद नरहेको स्पष्ट पारेका छन् । साथै उनले देशको संविधान र कानुनभन्दा माथि सरकार नरहेको उल्लेख गर्दै सरकारले चालेका हरेक कदम र निर्णयको औचित्य स्वयं सरकारले नै जनतासामु पुष्टि गर्नुपर्ने दृढ धारणा व्यक्त गरेका छन् ।
पार्टी कामको सिलसिलामा गृहजिल्ला चितवन पुगेका सभापति लामिछानेले पत्रकारहरूसँग कुराकानी गर्दै पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र सरकारको कार्यशैलीबारे पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक गरेका हुन् । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) फेरबदल र सञ्चारगृहमा पत्रकारमाथि भएको प्रहरी हस्तक्षेपलाई लिएर उत्पन्न संशयबारे लामिछानेले दुई वटा महत्वपूर्ण सन्देश दिएका छन् ।
‘पार्टी र सरकारबिच कुनै वैमनस्यता छैन’
सभापति लामिछानेले सरकार सञ्चालन र पार्टी सञ्चालनका आ-आफ्नै दायरा र स्वायत्तता रहेको प्रस्ट पारे । उनले सरकार टिकाउन वा पार्टी टिकाउनकै लागि अवाञ्छित सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको बताए । ‘सरकार टिकाउनकै लागि, पार्टी टिकाउनकै लागि छेउमा अर्को कुर्सी राख्ने पक्षमा हामी छैनौँ । एब्सोल्युट काम सरकारलाई गर्न दिन्छौँ र एब्सोल्युट काम पार्टीले गर्छ’, लामिछानेले भने, ‘दुवैले गरेका कामकारबाहीमा कहिलेकाहीँ प्रश्न आए, जिज्ञासा रहे, क्ल्यारिटी चाहिए हामी बस्छौँ र कुराकानी गर्छौँ । हाम्रो हरेक दिनजसो संवाद भइरहेको हुन्छ ।’
पार्टीले सरकारका कतिपय निर्णयमा प्रश्न उठाउँदैमा विवाद वा अन्तरद्वन्द्व भयो भनेर गलत भाष्य बनाउन नहुने उनको तर्क थियो । ‘कतै सरकार चुक्दा पार्टीले प्रश्न गर्दा झगडै पर्यो, हानाहान नै भयो अथवा यिनीहरूमा अन्तरद्वन्द्व भयो भन्ने जुन पुरानै सोचाइबाट विश्लेषण भइरहेको छ, त्यस्तो केही भएको छैन । पार्टी र सरकारबिच कुनै पनि वैमनस्यता भएको कुरा पूर्णरूपमा यहीँबाट खारेज गर्छु’, लामिछानेले प्रस्ट पारे ।
‘संविधान र कानुनभन्दा माथि सरकार छैन’
सभापति लामिछानेले विधिको शासन नै पार्टीको मुख्य जग भएको दोहोर्याउँदै कानुनभन्दा माथि कोही पनि हुन नसक्ने सन्देश दिए । सुरक्षा निकायको नेतृत्व फेरबदलमा पार्टीले कुनै हस्तक्षेप नगरेको र दबाब नदिएको उनले प्रस्ट्याए । ‘पार्टीले कहिल्यै पनि आईजीपी, डीआईजी वा सीडीओ फेर भनेर भन्दैन । सरकारले गरेका निर्णयको औचित्य सरकारले नै पुष्टि गर्नुपर्छ’, उनले थपे ।
अपराध र अनियमिततामा संलग्न जो-कोहीमाथि निर्मम कारबाही हुनुपर्ने अडान राख्दै उनले भने, ‘यदि कसैले कानुनविपरीत काम गरेको छ वा अपराध गरेको पाइएमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मात्र होइन, जोसुकै उच्च पदस्थ व्यक्ति भए पनि कानुनबमोजिम कारबाहीको दायरामा आउनुपर्छ ।’
यसअघि बिहीबार राति प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गर्दै लेखेका थिए, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ ।’ रास्वपा सचिवालय बैठकले सञ्चारगृहमा भएको प्रहरी धरपकड संविधान र पार्टीको आदर्शविपरीत भएको ठहर गर्दै गैरजिम्मेवार आदेश दिनेहरूमाथि छानबिन र कारबाहीको माग गरिसकेको छ ।





