रत्नायकेको अर्धशतकसँगै चितवनलाई हराएर सुदूरपश्चिम नेपाल प्रिमियर लिगको फाइनलमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा चितवनले प्रस्तुत गरेको १३५ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर १ बल बाँकी छँदै पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके नायक बने। खराब सुरुवातपछि धर्मराएको टोलीको इनिङ्स सम्हाल्दै रत्नायकेले धैर्यपूर्ण ब्याटिङका साथ ४१ बलमा उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले टोलीलाई जितको नजिक पुर्‍याउँदै महत्त्वपूर्ण इनिङ्स खेले। उनलाई बलिङतर्फ पनि सफलता मिलेको थियो, जहाँ उनले २ विकेट हात पारेका थिए।

अन्तिम ओभरमा जितका लागि मात्र ४ रन आवश्यक भए पनि खेल निकै तनावपूर्ण बनेको थियो। अन्तिम ओभरको पाँचौँ बलमा सुदूरका ब्याटर फ्याबियन एलेन रनआउट भएपछि २ बलमा २ रनको समीकरण बनेको थियो। तर क्रिजमा आएका दीपक बोहराले कामिल मिसाराको बलमा दर्शनीय चौका प्रहार गर्दै सुदूरपश्चिमलाई फाइनलको टिकट पक्का गराए। सुदूरका लागि विनोद भण्डारीले २३ रन जोडेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले ५१ बलमा सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याटर चल्न सकेनन्। सुदूरपश्चिमका स्कट कुगलेनले ३ विकेट लिएका थिए। जितसँगै सुदूरपश्चिमले अब उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा