शिक्षा सुधारको मुख्य जिम्मेवारी स्थानीय तह र समुदायको हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याउँदै त्यसको मुख्य जिम्मेवारी स्थानीय तह र समुदायले लिनुपर्ने बताएका छन्। जनकपुरधाममा आयोजित प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले गाउँपालिका र नगरपालिकाले विद्यालयको पूर्ण स्वामित्व नलिएसम्म सामुदायिक शिक्षाको स्तर उकास्न नसकिने स्पष्ट पारे।

नेपालको वर्तमान शिक्षा प्रणाली सन्तोषजनक नरहेको टिप्पणी गर्दै डा. यादवले सार्वजनिक र निजी विद्यालयबिचको खाडलले सामाजिक असमानता बढाएको चिन्ता व्यक्त गरे। उनले शिक्षा भनेको समाजलाई समतामूलक र समृद्ध बनाउने प्रमुख औजार हुनुपर्नेमा दुई धारको विभेदकारी शिक्षा प्रणाली विकास हुँदा समग्र राज्यको उद्देश्य नै कमजोर बन्न पुगेको धारणा राखे।

विगतमा समुदाय आफैँले अपनत्व लिएर विद्यालयहरू सफलतापूर्वक सञ्चालन गरेको स्मरण गराउँदै पूर्वराष्ट्रपति यादवले संघीयता कार्यान्वयनसँगै स्थानीय सरकारका जनप्रतिनिधिहरूले विद्यालय सुधारको प्रत्यक्ष दायित्व बहन गर्नुपर्ने बताए। शिक्षा क्षेत्रमा सुधार ल्याउन परिवार, समाज, विद्यालय र स्थानीय सरकारबिच बलियो सहकार्य र समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो।

विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्ने प्रधानाध्यापकहरूलाई थप सक्षम, जवाफदेही र जिम्मेवार बनाउनुपर्नेमा जोड दिँदै उनले गुणस्तरीय शिक्षा बिना कुनै पनि राष्ट्रको दिगो विकास सम्भव नहुने बताए। उनले स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गरी सामुदायिक विद्यालयहरूलाई प्रतिस्पर्धी बनाउन सरोकारवाला सबैलाई आह्वान गरे।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा