काठमाडौं । तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्च अदालतले गरेको आदेशको पत्र काठमाडौं महानगरपालिका पुगेको छ। पत्र महानगरमा आएकाले अब फोहोर उठाइने मेयर बालेन साहले बताएका छन् । उनले सोमबार सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदैन भनेका छन्,‘ सिंहदरबार समेतको फोहरमैला नउठेको सम्बन्धमा सम्मानित अदालतको अन्तरिम आदेश प्राप्त गरेका छौँ ।
उनले लेखेका छन्,‘ सम्मानित अदालतले दिएको आदेशको परिपालना गर्ने सन्दर्भमा हामी प्रस्ट, प्रतिबद्ध र दृढ छौं । तर सम्मानित अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै होइन, संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक छ ।’ मेयर साहले बागमती, बिष्णुमति र मनोहरा तथा यिनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जासम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको तर्फ पनि सम्बन्धित निकाय जिम्मेवारीवोध हुनुपर्ने विषय उठान गरेका छन् ।
उनले पुराना आदेशको पालना नहुँदा नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने कटाक्ष पनि गरेका छन् । उनले संविधान र प्रचलित कानुनले परिकल्पना गरे बमोजिम स्थानीय सरकारसँग संघ र प्रदेश सरकारले अनिवार्यरुपमा समन्वय, सहकार्य गरि सहअस्तित्वको आधारमा नागरिकका समस्याको यथाशिघ्र समाधान गर्नु पर्ने कुरामा आफू दृढ रहेको औंल्याएका छन् । आजैदेखि महानगरपालिकाले सिंहदरबारको फोहोर उठाउन थालिसकेको छ ।





