काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबार दिन बिहीबार उत्साहजनक वृद्धि देखिएको छ।
अघिल्लो दिन बुधबार १.६४ अंकले ओरालो लागेको बजार आज दोहोरो अंकले सुध्रिँदै २७.१९ अंकको बढोत्तरीका साथ २७०८.७० बिन्दुमा पुगेर बन्द भएको हो।
परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ। दिनभर भएका कारोबारमा ३२६ कम्पनीका ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर कुल ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँमा किनबेच भए।
यो कारोबार रकम हिजो बुधबारको ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको तुलनामा झन्डै ४ अर्बले बढी हो।
आजको बजारमा कुल २०१ कम्पनीको सेयर मूल्य बढेको छ। विशेषगरी जलविद्युत् र पर्यटन क्षेत्रका कम्पनीहरूमा लगानीकर्ताको आकर्षण देखियो, जसका कारण कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यस्तै, रिडी पावरको सेयर मूल्य ९.९७ प्रतिशत र खानीखोला हाइड्रोपावरको मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ।




