काठमाडौँ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय तनाव र आगामी निर्वाचनका बेला पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पार्दै उपभोक्तालाई अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न अपिल गरेको छ। मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव देखिएपछि नेपालमा अभाव हुन सक्ने त्रासका बीच निगमले यस्तो प्रष्टीकरण दिएको हो।
निगमले भारतबाट इन्धनको आयात नियमित भइरहेको र हाललाई कुनै पनि प्रकारको अभाव हुने सम्भावना नरहेको जनाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको समयमा समेत इन्धनको आपूर्ति व्यवस्थालाई चुस्त राखिने र निर्वाचन अवधिभर पेट्रोल पम्पहरू खुला रहने सुनिश्चित गरिएको छ।
विशेष गरी घरमा इन्धन भण्डारण गर्दा आगजनी र अन्य गम्भीर दुर्घटनाको उच्च जोखिम हुने भन्दै निगमले सचेत गराएको छ। निर्वाचन र युद्धको हल्लाका भरमा अनावश्यक ‘स्टक’ नगर्न र सुरक्षा संवेदनशीलतालाई ध्यान दिन निगमले सबैमा अनुरोध गरेको छ।





