लगातार पाँचौँ दिन बढ्यो सेयर बजारः २३.८३ अंकले बढ्दा २९ सय ६० को विन्दुमा नेप्से, झण्डै १५ अर्बको सेयर किनबेच

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार पनि सुधारको क्रम जारी रहँदा सेयर बजारले लगातार पाँचौँ दिन हरियाली छाएको छ। साताको तेस्रो कारोबार दिन परिसूचक २३.८३ अंकले उकालो लागेर २९ सय ६० दशमलव ४० विन्दुमा पुगेर थामिएको छ।

यस दिन बजारमा मिश्रित प्रभाव देखिए पनि व्यापार समूहका लगानीकर्ताले सबैभन्दा बढी ९.१२ प्रतिशत नाफा कमाएका छन्। विकास बैंक र जलविद्युत समूहका उपसूचकहरूमा पनि क्रमशः १.३८ र १.३२ प्रतिशतको वृद्धि देखिएको छ।

बजार परिसूचक सकारात्मक दिशामा अघि बढे पनि खरिदबिक्री रकममा भने अघिल्लो दिनको तुलनामा केही गिरावट आएको छ। मंगलबार कुल ३४१ कम्पनीका ३ करोड ५८ लाखभन्दा बढी कित्ता सेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार रुपैयाँमा किनबेच भएको छ।

यो कारोबार रकम सोमबारको तुलनामा करिब ९५ करोड रुपैयाँले कम हो। सोमबार १५ अर्ब ७८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

मंगलबारको बजारमा १३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा केही कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा हात पारेका छन्।

विशेषगरी सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

यता, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य समूहका उपसूचकहरूमा भने यस दिन गिरावट देखिएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा