काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमाथि आज (मङ्गलबार) पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि उक्त रिटलाई ‘हेर्दाहेर्दै’ मा राखेर निरन्तर सुनुवाइ भइरहेको हो।
महान्यायाधिवक्ता कार्यालयले लामिछानेमाथि लागेका गम्भीर प्रकृतिका मुद्दाहरू हटाउन जिल्ला सरकारी वकिल कार्यालयहरूलाई दिएको निर्देशन बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले रिट दायर गर्नुभएको थियो। सोमबारको इजलासमा रिट निवेदकका तर्फबाट कानुन व्यवसायीहरूले सुरुवाती बहस गरेका थिए। निवेदक पक्षको बहस अझै बाँकी रहेकाले आजको सुनुवाइमा पनि सोही क्रमले निरन्तरता पाउनेछ।
रिट निवेदकहरूको बहस सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीहरूले महान्यायाधिवक्ताको निर्णयको प्रतिरक्षामा आफ्नो तर्क राख्नेछन्। यसअघि न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले मुद्दा संशोधन गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको थियो। सोही बमोजिम महान्यायाधिवक्ताको कार्यालयले निर्णयसँग सम्बन्धित सात पृष्ठ लामो ‘टिप्पणी र आदेश’ को फाइल अदालतमा पेस गरिसकेको छ।
महान्यायाधिवक्ता कार्यालयको उक्त विवादित निर्णयले लामिछानेलाई सहकारी ठगीमा मात्र केन्द्रित गरी अन्य सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दाहरूबाट उन्मुक्ति दिन खोजेको आरोप रिटमा लगाइएको छ। काठमाडौँ र पर्साका सरकारी वकिल कार्यालयले हालसम्म अभियोगपत्र संशोधन नगरे पनि कास्की र रुपन्देहीमा प्रक्रिया अघि बढेको थियो। आजको सुनुवाइले यस कानुनी जटिलताको निकास दिने अपेक्षा गरिएको छ।





