पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि: पेट्रोल २१९ र डिजेल २०७ रुपैयाँ पुग्यो, ग्यासको मूल्य २ हजार नाघ्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको निरन्तर वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गर्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २५–२५ रुपैयाँ वृद्धि गरेको हो।

नयाँ मूल्य सूचीअनुसार काठमाडौँ उपत्यका, पोखरा र दिपायल (तेस्रो वर्ग) मा अब पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ पुगेको छ। त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २०७ रुपैयाँ कायम गरिएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा पनि प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरेको छ, जसका कारण अब उपभोक्ताले एक सिलिन्डर ग्यासका लागि २ हजार १० रुपैयाँ तिर्नुपर्नेछ।

हवाई इन्धनतर्फ पनि आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाइएको छ। मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको खरिद दर महँगिएको र सरकारले भन्सार तथा पूर्वाधार करमा ५० प्रतिशत छुट दिँदा समेत निगमको पाक्षिक घाटा १० अर्ब २१ करोड रुपैयाँभन्दा माथि पुगेकाले मूल्य समायोजन गर्नुपरेको निगमको दाबी छ।

बजारमा ग्यासको अभाव देखिन थालेको र कतिपय स्थानमा आधा सिलिन्डर मात्र उपलब्ध भइरहेको गुनासोका बीच निगमले इन्धन आपूर्तिलाई सहज बनाइराख्न उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ। मूल्यवृद्धिको यो निर्णयसँगै बजारमा यातायात भाडा र दैनिक उपभोग्य वस्तुको मूल्य समेत बढ्ने सर्वसाधारणको चिन्ता छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा