भक्तपुरमा प्रसिद्ध बिस्का जात्रा सुरु: नौ दिन आठ रात ‘सांस्कृतिक रौनक’ मा झुम्नेछ ऐतिहासिक नगर

भक्तपुर । भक्तपुरको ऐतिहासिक र सांस्कृतिक पहिचान बोकेको प्रसिद्ध ‘बिस्का जात्रा’ आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ। तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याएर भैरवनाथको रथ (भैलखः) तानातान गरेसँगै जात्राको विधिवत् आरम्भ हुनेछ। अबको नौ दिन र आठ रात भक्तपुर नगर जात्राको उत्साह र रौनकमा झुम्नेछ।

जात्राको पहिलो दिन प्यागोडा शैलीको तीनतल्ले भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई माथिल्लो टोल (थने) र तल्लो टोल (क्वने) का बासिन्दाले डोरी तानातान गर्ने परम्परा छ। यो जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार यस जात्रालाई मल्लकालीन शिलालेखहरूमा ‘विश्व जात्रा’ को रूपमा सम्बोधन गरिएको छ। उनले बिस्काको अर्थ ‘सर्प मारिएको’ भन्ने प्रचलित किंवदन्तीलाई भ्रम भन्दै यो जात्रा नितान्त भैरव र भद्रकालीको शक्तिसँग सम्बन्धित रहेको स्पष्ट पारेका छन्।

जात्राको चौथो दिन भेलुखेलमा ५५ हात लामो यसींद्योः (लिङ्गो) उभ्याइनेछ, जसलाई हेर्नाले शत्रु नाश हुने धार्मिक विश्वास छ। वैशाख १ गते नयाँ वर्षको दिन दिनभर लिङ्गोको पूजा गरी साँझ ढालिनेछ। त्यसपछि भैरव र भद्रकालीको रथ जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइनेछ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले यस वर्ष करिब २ हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभएको छ। विगतका वर्षहरूमा रथ तान्ने क्रममा हुने झडप र दुर्घटनालाई कम गर्न दिउँसो ३ बजेदेखि ५ बजेभित्रै रथ तानिसक्ने गरी तयारी मिलाइएको छ। हुलदङ्गा गर्नेहरूको पहिचानका लागि चोक-चोकमा सीसी क्यामेरा जडान गरिएको छ भने शान्ति सुरक्षामा खलल पुर्‍याउनेलाई कडा कानुनी कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा