बन्दाबन्दीका समयमा पशुपतिमा १० करोड घाटा

पशुपति क्षेत्रमा बन्दाबन्दीका समयमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा रु १० करोड घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट रु एक करोड ५७ लाख आठ हजार ७३०, विशेष पूजाबाट रु दुई करोड २५ लाख ७९ हजार ५०० बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो ।

चन्दाबाट रु दुई लाख ७२ हजार ९१७, पार्किङबाट रु दुई लाख ९९ हजार ९३५, गुठी जग्गाबाट हुने आम्दानीमा रु एक करोड ३२ लाख ९५ हजार ८६८, पर्यटक प्रवेश शुल्कबाट रु एक करोड दुई लाख ८२ हजार, क्रियापुत्री सेवाबाट रु १२ लाख ७५ हजार ४६१, तिलगङ्गा धर्मशालाबाट रु चार लाख ३९ हजार २३४, विद्युतीय शवदाहगृह सञ्चालनबाट रु १० लाख ८६ हजार ७५० कोषलाई घाटा लागेको उहाँले बताउनुभयो ।

अन्य शीर्षकमा समेत गरी अनुमानित रु १० करोड छ लाख ७२ हजार ६३९ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ ।

घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा