नवलपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनमा करिब ३१ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको बताएकी छन्। राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी उनले पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो जानकारी दिएकी हुन्।
फागुन २१ गतेका लागि तय भएको निर्वाचन निर्धारित समयमै सम्पन्न गराउन सरकार पूर्ण रूपमा क्रियाशील रहेको प्रधानमन्त्रीले बताइन्। चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले चुनाव नसर्ने प्रष्ट पारिन्।
भौतिक साधनहरूको अभाव पूर्ति र व्यवस्थापनका कारण करिब ३१ देखि ३२ अर्ब खर्च हुने देखिएको उनले उल्लेख गरिन्। यति ठूलो रकम खर्च भइरहेको र विभिन्न देशबाट समेत सहयोग प्राप्त भइरहेको अवस्थामा चुनाव सार्ने कुरा असम्भव रहेको उनले बताइन्।
उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र? ३१/३२ अर्ब खर्च हुन्छ यो बेलामा। भौतिक साधनहरूको अभाव पूरा गर्दागर्दै त्यत्रो खर्च भइरहेको छ। यो सहयोग अहिलेको स्थिति नआएको भए अर्कोतिर उपयोग हुन्थ्यो।’
प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि हुने र नयाँ जनप्रतिनिधि चयन भएलगत्तै नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता समेत जनाइन्। कहीँ कतै केही कारणले मतदान रोकिएमा दोस्रो चरणमा भए पनि निर्वाचन सम्पन्न गराउने उनको भनाइ छ।





