ईरफान खानको सम्मानमा आर्टमाण्डुले ल्यायो ‘ए चरी’ (भिडियो सहित)

काठमाडौं– चर्चित कलाकार ईरफान खानको सम्मानमा आर्ट्माण्डुले आफ्नो नयाँ गीत समर्पण गरेको छ। ‘ए चरी’ ‘एन ओड टु ईरफ़ान खान’ बोलको उक्त गीत जेठ २ गते आर्टमाण्डुले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको हो । गीतको रचना अन्वेश थुलुङ्ग् राईले गरेका हुन् भने स्वर तथा संगीत अंकित बाबु अधिकारीको रहेको छ।

आर्टमाण्डुले आज जारी गरेको प्रेस विज्ञप्तीकाअनुसार गीतको शब्दले भने जस्तै ईरफान खानले दुनियाँभरि करोडौं कलाप्रेमीलाई प्रेरणा दिएका छन् । र गीत सुन्दै गर्दा ईरफान आफैँले समस्त कलाकारहरुलाई चरी जस्तै स्वतन्त्र उडान भर्न उत्प्रेरित गरिरहेको भान हुन्छ ।

गत २९ अप्रिलमा मुम्बईको कोकिलाबेन अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा दिवंगत भएका ईरफ़ान आफैँ संघर्ष गरेर बलिउड हुँदै हलिउडसम्मको लामो यात्रा तय गर्न सफल भएका कलाकार हुन्।  यस अर्थमा उनको पुरै जीवननै एक चरीको जस्तै स्वतन्त्र थियो ।

गीतका रचनाकार थुलुङ्ग् ले ईरफ़ान खान आफ्नो जीवनमा धेरै ठुलो महत्व बोकेका कलाकार भएको बताएका छन्। उनले भनेका छन्, ‘उनको देहावसान पछि मलाई उनलाई एउटा गीत समर्पण गर्न इच्छा लाग्यो । यति कम समयमा हाम्रो मिहिनेतले यो गीत सार्वजनिक गर्न लागेका छौं। यसमा म एकदमै खुशी छु ।’

गीतको संगीत संयोजन रोमी बस्नेतले गरेका हुन् भने कोविद बज्रको ध्वनी सम्मिश्रणमा गीत आर्टमाण्डुको आफ्नै स्टुडियोमा निर्माण भएको हो ।

यस गीतका गायक तथा संगीतकार अंकित बाबु अधिकारीका थुप्रै गीत बजारमा आइसकेका छन् । उनका राम नाम, सम्झनालाई, मायामा लगायतका गीत चर्चित छन् । अधिकारी नेपाली तारा ३ को टप ८ सम्म पुग्न सफल भएका थिए ।

आर्टमाण्डुले विगतमा पनि यस्तै अर्थपूर्ण सृजनाहरु नेपाली कला क्षेत्रमा पस्किँदै आएको छ । आर्टमाण्डुबाट निर्माण भएका केही चर्चित म्युजिक भिडियोहरुमा विपिन कार्की अभिनित ‘बटौली’ अंकित बाबु अधिकारीकै ‘सम्झनालाई’ र नवीन चौहान निर्देशित ‘लुकिछिपी किन मायामा’ पर्छन।

लुकिछिपी किन मायामा बोलको गीतले गत २१औं टुबोर्ग इमेज अवार्डमा तीन मनोनयन मध्यमा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो’ तथा ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’ गरि दुई अवार्ड हात पार्न सफल भएको थियो । आर्टमाण्डु नेपालले गत तीन वर्ष देखि विभिन्न विधामा अडियो भिडियो निर्माण गर्दै आइरहेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा