सर्वोच्च शिखरमा एकै दिन १७५ जनाभन्दा बढी

सोलुखुम्बु — सर्वोच्च शिखर सगरमाथातर्फ बुधबार बिहान उक्लिरहेका आरोहीको लस्कर (हेलिकोप्टरबाट लिइएको तस्बिर) । बुधबार एकै दिन १७५ भन्दा बढी आरोहीले सर्वोच्च शिखर चुमेका छन् । एकैदिन सगरमाथामा धेरै जनाले भने सन् २०१९ को मे २३ मा आरोहण गरेका थिए । उक्त दिन ३५४ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।विश्व कीर्तिमानी कामीरिता शेर्पाले पनि बुधबारै आफ्नो रेकर्ड तोड्दै २७ औं पटक सगरमाथा आरोहण गरेका छन् । यो सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका १ हजार १ सय ७६ जनाले अनुमति लिएका छन् ।

जसमा ८ सय ९९ पुरुष र २ सय ७७ महिला छन् । पर्यटन विभागका अनुसार, वैशाख ३१ सम्म सगरमाथा आरोहणका लागि ४ सय ७८ जनाले अनुमति लिएका थिए । विभागले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख सलामी दस्तुरबापत राजस्व संकलन गरिसकेको छ ।पर्यटन विभागका निर्देशक युवराज खतिवडाका अनुसार ४ दिनयता सगरमाथा शिखरमा २५० जना पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै आरोहण सकेर फर्कने क्रममा संखुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।

आरोहणमा कामीरिताको अर्को रेकर्ड

विश्व कीर्तिमानी कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै बुधबार २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् । सोलुखुम्बु थामेका कामीरिता बिहान साढे ८ बजे चुचुरोमा पुगेका हुन् । यसअघि उनले २०७९ वैशाख २४ मा सगरमाथाको २६ औं आरोहण गरेका थिए ।२०२६ सालमा जन्मेका उनले २०४८/४९ बाट हिमाल चढ्न सुरु गरेका हुन् । सगरमाथासँगै उनले विश्वकै दोस्रो अग्लो हिमाल केटु, चोयु, ल्होत्से र मकालुलगायत आरोहण गरेका छन् । उनले सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका थिए । उनीपछि पासाङ दावा शेर्पाले २६ पटकसम्म सगरमाथाको आरोहण गरेका छन् ।

यस्तै, पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनामले पनि सगरमाथा आरोहण गरेका छन् । यती समूहका अध्यक्षसमेत रहेका उनी बुधबार बिहान ७ बजेर ३४ मिनेटमा चुचुरोमा पुगेका हुन् । यसअघि श्रीमती पासाङल्हामुसँगै सगरमाथा आरोहण गर्ने उनको प्रयास सफल हुन सकेको थिएन । त्यसबेला उनी क्याम्प २ बाटै फर्केका थिए । पासाङल्हामु २०५० वैशाख १० मा सगरमाथाको शिरमा पुगेकी थिइन् । आरोहणपछि फर्कने क्रममा उनको बाटैमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा