काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।
पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताएका छन् ।
अध्यक्ष नेपालले भने, ‘वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको संकटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।’
भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, ‘सहि राजनीतिक कार्यदिशाको खाँचो छ ।’ उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मकरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र राजनीतिक विकास क्रमको उच्चत्तम उपलब्धि भएको बताउँदै यसको विकल्प खोज्न नहुने बताए। उनले वैचारिक रुपमा निकट रहेका शक्तिलाई एकीकृत गरी संगठनात्मक रुपले शक्तिशाली पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।
यही पुस १३ गतेसम्म चल्ने बैठकमा विधान हेरफेरका लागि नेताको सुझाव संकलन गरी मस्यौदामा छलफल गरिनेछ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार छनोटका लागि मापदण्ड तय गर्नुका साथै बैठकमा सङ्गठन सुदृढीकरण रणनीति तय गरिने छ ।
