काठमाडाैं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यकता अनुसार देशभरका मतदाताको विवरण निश्चित शुल्कमा उपलब्ध गराउने नीति लागू गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकामा उल्लेखित व्यवस्थाअनुसार, दर्ता भएका राजनीतिक दलहरूले आफ्नो औपचारिक पत्रको आधारमा देशभरिको मतदाता नामावलीको विद्युतीय प्रतिलिपि प्राप्त गर्न १० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।
यसमा मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरणहरू समावेश हुनेछैनन्। आयोगले यस्तो डाटा हार्डड्राइभ वा पेनड्राइभमार्फत हस्तान्तरण गर्नेछ।
यसैगरी, कुनै एक प्रदेशको मतदाता विवरण मात्र चाहिएमा ५ हजार रुपैयाँ शुल्क लाग्नेछ। निर्वाचन अधिकृतहरूले मतदाता, दलका प्रतिनिधि वा उम्मेदवारहरूलाई मतदाता नामावली हेर्ने वा आफ्नै खर्चमा प्रतिलिपि बनाउने सुविधा दिनुपर्नेछ, तर नामावली च्यात्ने, बिगार्ने वा मेटाउने कार्य गर्न भने पूर्ण प्रतिबन्ध हुनेछ।
फोटोसहितको मतदाता नामावली केवल सम्बन्धित मतदाताले मात्र हेर्न पाउने र फोटोबिनाको नामावली भने जोसुकैले निरीक्षण गर्न सक्ने प्रावधान छ।
यदि कुनै व्यक्तिले आफ्नो मात्र मतदाता विवरणको प्रतिलिपि चाहेमा, निर्वाचन कार्यालयले १० हजार रुपैयाँ शुल्क लिएर सोही मतदाताको विवरण मात्र समावेश भएको प्रतिलिपि दिनेछ।
यस्तै जिल्लाभर र एक कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि रु तीन हजार तिर्नुपर्नेछ ।तर, मतदाता नामावलीको यस्तो प्रतिलिपि उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकता नम्बरजस्ता विवरणहरू भने समावेश गरिनेछैन।
