काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता १२ दिनमै टुटेकाे छ।
रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच पुस १४ गते भएकाे सात बुँदे सहमति आज टुङ्गिएकाे हाे ।
वैकल्पिक राजनीतिक शक्ति निर्माणको नाममा भएको सहमति अन्ततः पद, भूमिका, नेतृत्वको विवादका कारण १२ दिनमै टुटेकाे हाे ।
अन्ततः उज्यालो नेपाल पार्टीलाई पुनः स्वतन्त्र रूपमा अघि बढाउने निर्णय गरेका कुलमान घिसिङ अब आफैं अध्यक्ष बन्दै छन् ।
रास्वपाबाट अलगिएका घिसिङले पत्रकार सम्मेलन गर्दै सहमति यसरी चाँडै भत्कनसक्ने कुरा आफूलाई कहिल्यै नलागेको बताए । यस्तै सहमतिका बुँदा रास्वपाले नै कार्यान्वयन गर्न नमानेको उनकाे आरोप छ ।
पत्रकार सम्मेलनमा उनले भने, ‘म आज अत्यन्तै मर्माहित भएको छु । यो अवस्था आउँछ भनेर लागेको थिएन। यो १२ दिन मेरा लागि ठूलो बिलखबन्दमा, कता जाने भन्ने नै अन्यौलमा भएको परिस्थिति, आगाडि बढौं भने उहाँहरू अघि बढ्न नदिने, पछि जाऔं भने आम नेपाली र जेनजी भाइबहिनीहरूको सपनालाई पूरा गर्नका लागि पछि हट्न नमिल्ने अवस्था थियो ।’
रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन्।
हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने र नयाँ नयाँ भाग मागेको माग्यै गरेपछि कुलमानसँग अब अघि बढ्न नसक्ने रास्वपाकाे निष्कर्ष छ।
