काठमाडौँ । आगामी फागुन २१ गते हुने आम निर्वाचनको मुखमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ जनालाई कारबाही गरेको छ। पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत गतिविधि गरेको भन्दै नेकपाले प्रभावशाली नेता हरिबोल गजुरेलसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।
नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै कारबाहीको आधिकारिक जानकारी दिएका हुन्।
विज्ञप्तिअनुसार पार्टीको आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा स्वतन्त्र वा विद्रोही उम्मेदवारी दिएका, त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेका तथा प्रचारप्रसारमा संलग्न भएकाले उनीहरूलाई विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गरिएको हो।
निष्कासनमा परेका नेताहरूमा हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिराहा), राजकुमारी साह (सिराहा), जिवछ साह (सिराहा) रहेका छन् ।
निर्वाचनको मिति नजिकिँदै गर्दा पार्टीभित्र देखिएको असन्तुष्टि र अन्तर्घातलाई रोक्न नेतृत्वले यो कडा कदम चालेको बुझिएको छ।





