निर्वाचन आउन ४० दिन बाँकी: समानुपातिकतर्फको डेढ करोड मतपत्र छापियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ।

आयोगका अनुसार हालसम्म १ करोड ५० लाख (डेढ करोड) थान मतपत्र छपाइ सम्पन्न भइसकेको छ। भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा गत माघ २ गतेदेखि सुरु भएको छपाइ कार्यमा अब करिब ५० लाख थान मतपत्र मात्र छाप्न बाँकी रहेको छ।

समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सकिएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गर्ने आयोगको योजना छ। प्रत्यक्षतर्फका उम्मेदवारहरूको अन्तिम नामावली तय भइसकेकाले आयोगले अबको ध्यान सोही प्रणालीको मतपत्रमा केन्द्रित गरेको हो। निर्वाचन व्यवस्थापनका लागि मनोनयन पत्र दर्ता प्रयोजनार्थ आवश्यक मतदाता नामावली समेत छपाइ गरी सबै जिल्लामा पुर्‍याइसकिएको छ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल ३ हजार ४०६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। आयोगले शुक्रबार मात्रै सबै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार चुनावी प्रतिस्पर्धामा ३ हजार १७ पुरुष, ३८८ महिला र एकजना अन्य लिङ्गी उम्मेदवार रहेका छन्। उम्मेदवारी दर्तादेखि फिर्ता लिने प्रक्रियासम्मका सबै कार्यक्रमहरू देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

निर्वाचनको ४० दिन बाँकी रहँदा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारहरूको नामावली पनि सार्वजनिक भइसकेको छ। आयोगले मतपत्र छपाइ र ढुवानीलाई समयमै सम्पन्न गरी निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउन प्रशासनिक र प्राविधिक दुवै तयारीलाई तीव्रता दिएको छ। उम्मेदवारहरूले निर्वाचन चिह्न पाएसँगै अब देशैभर चुनावी प्रचारप्रसार र राजनीतिक सरगर्मी थप बढ्ने देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा