काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ।
आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र खाना पकाउने एलपी ग्याँसमा प्रतिसिलिन्डर ४५.४१ रुपैयाँ मूल्य बढेर आए तापनि निगमले उपभोक्ताको हितलाई ध्यानमा राख्दै यी दुई इन्धनको मूल्य भने हाललाई यथावत राखेको छ। ग्याँस र पेट्रोलको मूल्यमा कुनै फेरबदल नभएकाले आम उपभोक्तालाई केही राहत मिलेको छ।
त्यस्तै, निगमले हवाई इन्धनको मूल्यमा भने केही कटौती गरेको छ। आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर ७ अमेरिकी डलर मूल्य कम गरिएको छ। पोखरा र भैरहवा विमानस्थलको हकमा भने निगमले ‘ब्रेक इभन पोइन्ट’ (नाफा-नोक्सान बराबर हुने विन्दु) मा बिक्री मूल्य कायम गरेको जानकारी दिएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा हुने उतारचढावका आधारमा आईओसीले प्रत्येक १५-१५ दिनमा पठाउने मूल्य सूचीअनुसार निगमले स्वचालित मूल्य प्रणालीमार्फत यहाँको बजार भाउ समायोजन गर्दै आएको छ।





