काठमाडौँ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो श्री स्वस्थानी व्रत तथा माघ माहात्म्य कथा वाचन आज (आइतबार) माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदै छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले महिना दिनदेखि घरघरमा गर्दै आएको पूजा आराधना र कथा वाचन आजबाट यो वर्षका लागि विसर्जन हुँदै छ।
स्वस्थानी व्रत समापनका लागि आज विशेष पूजा सामग्रीहरूको प्रयोग गरिन्छ। बर्तालुहरूले १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी र १०८ अक्षताका साथै विभिन्न थरिका फलफूल, धूप, बत्ती र नैवेद्य भगवतीलाई अर्पण गर्ने धार्मिक विधि छ। पूजापछि चढाइएका प्रसादमध्ये आठ-आठ वटा रोटी र अन्य सामग्री पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मित छोरालाई दिने र कोही नभए नजिकको पवित्र नदीमा विसर्जन गर्ने परम्परा रहेको छ। आज रातभर जाग्राम बसी देवीको माहात्म्य सुन्ने र भोलिपल्ट बिहान फूलपाती नदीमा सेलाएपछि मात्र व्रतको पूर्ण साङ्गे हुने धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।
यसैबीच, काठमाडौँको पूर्वी भेगस्थित ऐतिहासिक साँखुको शालीनदीमा एक महिनादेखि जारी माधवनारायण व्रत पनि आजै समापन गरिँदै छ। यस वर्ष १६२ महिला र १५ पुरुषले शालीनदीमा बसेर कठोर व्रत गरेका छन्। समापनका अवसरमा आज शालीनदीमा अश्वमेध यज्ञ आयोजना गरिएको छ। नेवार समुदायले आजको दिनलाई ‘सि पुन्हि’ का रूपमा मनाउने गर्छन्।
स्वस्थानीको अर्थ ‘आफ्नो स्थानकी देवी’ भन्ने बुझिन्छ। त्रिनेत्रधारी, प्रसन्न मुद्रा र चार हातमा नीलकमल, खड्ग, ढाल एवं वरदमुद्रा लिएकी स्वस्थानी देवीको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने, बिछोडिएका जोडीको पुनर्मिलन हुने र परिवारमा सुख-शान्ति छाउने जनविश्वास छ। सत्य युगमा माता पार्वतीले महादेवलाई पतिका रूपमा पाउन विष्णुको सल्लाहअनुसार पहिलोपटक यो व्रत गरेको कथामा उल्लेख छ।
“विष्णुपत्नी नमस्तुभ्यं सर्वसिद्धिप्रदायिनि” भन्दै सबैको कल्याणको कामनाका साथ आज समापन गरिने यो व्रतले नेपाली समाजमा धार्मिक सहिष्णुता, अनुशासन र पारिवारिक एकताको सन्देश प्रवाह गर्दै आएको छ।





