काठमाडौँ । महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा सम्पूर्ण तयारी पूरा भएकाे छ । आगामी आइतबार परेको महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे हाे ।
पर्वलाई व्यवस्थित बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाको अध्यक्षतामा १७१ सदस्यीय मूल समारोह समिति र ९ वटा उप-समितिहरू गठन गरी काम अगाडि बढाइएको छ।
भक्तजनको चापलाई मध्यनजर गर्दै आइतबार बिहान २ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिने छन्। यसपटक नेपालसहित भारत, भुटान र बङ्गलादेश लगायतका देशबाट आउने साधुसन्त र दर्शनार्थीका लागि आवास, भोजन र स्वास्थ्य सेवाको विशेष प्रबन्ध मिलाइएको छ। तिलगंगा, हंशमण्डप र वनकाली क्षेत्रमा निःशुल्क भोजन र बस्ने व्यवस्था गरिएको छ।
सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ भने रेडक्रस र स्काउट लगायतका स्वयंसेवकहरू पनि खटिएका छन्।
मन्दिर परिसरलाई फूल र बत्तीले आकर्षक रूपमा सिँगारिएको छ। कोषका सदस्य सचिव प्रकाशमणि शर्मा भुसालका अनुसार यस वर्षको महाशिवरात्रि ‘विश्व शान्ति र पर्यावरण’लाई प्राथमिकता दिँदै उल्लासमय वातावरणमा मनाइँदैछ।





