काठमाडौं । दक्षिणी इरानको होर्मोजगान प्रान्तस्थित मिनाब सहरमा रहेको एक बालिका प्राथमिक विद्यालयमा इजरायलले भीषण आक्रमण गर्दा ज्यान गुमाउने विद्यार्थीहरूको संख्या ५१ पुगेको छ।
शनिबार बिहान भएको यस ‘सिधा आक्रमण’ ले अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ।
कतारको सरकारी सञ्चार माध्यम अलजजिरा र इरानी समाचार एजेन्सी ईर्नाका अनुसार इजरायली सेनाले विद्यालय भवनलाई नै निशाना बनाएर प्रहार गरेको थियो।
आक्रमणको समयमा विद्यालयभित्र १७० जना विद्यार्थीहरू अध्ययनरत थिए, जसमध्ये ५१ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६० जना गम्भीर रूपमा घाइते भएका छन्।
मिनाब सहरका स्थानीय अधिकारी मोहम्मद रादमेहरले उद्धार कार्य जारी रहेको र भग्नावशेषमा अझै केही विद्यार्थी पुरिएको हुन सक्ने भएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्।
यसैबीच, इरानले आफ्ना विद्यालय र नागरिक क्षेत्रमा भएको यो बीभत्स आक्रमणको कडा बदला लिने चेतावनी दिएको छ। निर्दोष बालबालिकाहरूलाई निशाना बनाइएको यो घटनापछि मध्यपूर्व र खाडी क्षेत्रको सुरक्षा स्थिति थप नाजुक बनेको छ। युद्ध चर्किएपछि विभिन्न देशहरूले आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अपिल गरेका छन्।





