काठमाडौँ । सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं सांसद रवि लामिछानेले नयाँ सरकारका लागि प्रचलित १०० दिने ‘हनिमुन पिरियड’ को सुविधा आवश्यक नरहेको घोषणा गर्नुभएको छ। बिहीबार नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले आफूहरू दिन मात्र नभई सेकेन्ड-सेकेन्ड गनेर जनताको पक्षमा काम गर्न मैदानमा उत्रिसकेको बताउनुभयो। विगतका सरकारहरू पारदर्शिता र जवाफदेहितामा चुकेका कारण इतिहास रच्न असफल भएको टिप्पणी गर्दै उहाँले वर्तमान सरकार परिणाममुखी हुने दाबी गर्नुभयो।
सम्बोधनका क्रममा लामिछानेले प्रतिपक्षी दलहरूलाई सरकारमाथि २४ सै घण्टा कडा निगरानी राख्न र बाटो बिराएमा सच्याइदिन आग्रह गर्नुभयो। उहाँले आफ्नालाई बचाउने र विपक्षीलाई फसाउने गरी कानुन संशोधन गर्ने वा अध्यादेश ल्याउने जस्ता गलत परम्पराको अन्त्य भएको उद्घोष गर्नुभयो। सुशासनको वेग नरोकिने स्पष्ट पार्दै उहाँले राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूलाई स्वेच्छाले मार्गप्रशस्त गर्न अपिल गर्नुभयो। साथै, बिचौलिया र माफियाले बिगारेको व्यावसायिक वातावरण सुधार्दै निजी क्षेत्रलाई पूर्ण सुरक्षाको ग्यारेन्टी गरिने प्रतिबद्धता जनाउनुभयो।
लामिछानेले शताब्दीयौँदेखि विभेद र अत्याचार भोगेका दलित समुदाय र अवसरबाट वञ्चित महिलाहरूसँग सदनको तर्फबाट सार्वजनिक माफी माग्नुभएको छ। छुवाछुतलाई ‘संगठित अपराध’ को संज्ञा दिँदै उहाँले अब कुनै पनि नेपालीले जातका आधारमा शिर झुकाउनु नपर्ने र महिला हिंसामा शून्य सहनशीलता अपनाइने बताउनुभयो। राज्यका हरेक तहमा महिलाहरूको अर्थपूर्ण प्रतिनिधित्व गराउन सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको त्यागको सम्मान गर्दै लामिछानेले अब श्रम माफिया र बिचौलियाहरूलाई कानुनी कठघरामा उभ्याइने चेतावनी दिनुभयो। “खाडी क्षेत्रमा रहेका हाम्रा राजदूतहरू अब बिचौलियासँगको डिनर टेबलमा होइन, श्रमिकका शिविरहरूमा भेटिनेछन्,” उहाँले भन्नुभयो। विदेशमा रहेका युवाहरूलाई स्वदेश फर्किएर आर्थिक विकासमा जोडिन आह्वान गर्दै उहाँले विदेशी चलखेलमुक्त र राष्ट्रहितमा आधारित परराष्ट्र नीति अवलम्बन गरिने प्रष्ट पार्नुभयो।
अन्तमा, लामिछानेले यो संसद् र सरकार पूर्ण रूपमा जनताको भएको बताउँदै देशको समृद्धि र न्यायपूर्ण समाज निर्माण नै आफूहरूको एक मात्र लक्ष्य रहेको पुनरावृत्ति गर्नुभयो। ‘जेनजी’ आन्दोलन र बालेन्द्र शाहको नेतृत्वमा मुलुकले खोजेको परिवर्तनलाई संस्थागत गर्न रास्वपाले सदनभित्र र बाहिर सशक्त भूमिका खेल्ने उहाँले विश्वास दिलाउनुभयो।




