प्रधानमन्त्री बालेनको नाम दुरुपयोग गरी वडासचिव धम्क्याउने प्रकाश खड्का पक्राउ

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नाम र पदको दुरुपयोग गर्दै सरकारी कर्मचारीलाई धम्की दिने एक युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६, वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौँको शङ्खमूल बस्ने २२ वर्षीय प्रकाश खड्कालाई नियन्त्रणमा लिएको हो। प्रहरी टोलीले उनलाई शनिबार (जेठ २ गते) काठमाडौँबाट पक्राउ गरेको हो।

खड्काले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम समेत जोडेर राष्ट्रसेवक कर्मचारीहरूलाई फोनमार्फत धम्क्याउने, त्रास सिर्जना गर्ने र अमर्यादित शब्दहरू प्रयोग गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनले दैलेखको दुल्लु नगरपालिका–१३ का वडासचिव कमल भण्डारीलाई फोन गरेर धम्की दिएको अडियो रेकर्ड बाहिरिएपछि यो प्रकरण सार्वजनिक भएको थियो।

उक्त अडियो सार्वजनिक भएलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाहीका लागि प्रहरीलाई आग्रह गरेको थियो। पक्राउ परेका खड्कामाथि कानुन बमोजिम थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

 

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा